कविता, विलौना र म

Comment
person suing red typewriter

हिजो
कविता दिवस थियो
तर,
दिन पारेर मैले लेखिनँ ।
लेख्न खोज्दा पनि लेखिनँ ।

--

हिजोको भोलि, आज
सोच्दैछु, किन लेखिनँ ।
फेसबुक र ट्विटरमा
छ्याछ्याप्ति छन्
व्यंग देखि रोदनका
मार्मिक शब्दहरु।

सायद त्यसैले लेखिनँ
अझ भनुँ नलेख्ने केहि देखिनँ ।
म खाडी लेखुँ या
बाकसमा फर्केको पोइकी राँडी लेखुँ ?
एसिड लेखुँ या
एसिड पछाडिको सिड लेखुँ ?
हुम्ला लेखुँ या
मधेश लेखुँ ?
वाढी लेखुँ या
१९५० लेखुँ ?

बाद लेखुँ या
निर्वाद लेखुँ ?
भोकमरी लेखुँ या
महामारी पो लेखुँ ?

so called बोक्सी माथि
पिचास र किचकन्डीको
पिसाबको निसाप लेखुँ ?
बेरोजगारको हजार
तोकेको बजार
नतोकेको बजार
तिम्रो र मेरो लाचारी को प्रचार
वा बग्रेल्ती टोपलिने
टोपे, टेपे, ट्यापेहरुको
सुविचार, सदाचार ?

म अर्को विलौना गर्न चाहन्नथेँ
तर
विलौना मैँ टुंगिएछु।
धत्तेरी
मैले त फेरि लेखेछु ।

- जेठोबुढो
२०७१/१२/८