४० इन्चको टिभी

Comment
grayscale photography of TV hutch
१। 

७१ साल। भर्खरै बिबाह भएको साल। बैठकमा कम्तिमा ४० इन्चको टिभी राख्ने ठुलै रहर थियो। रमाउली भनेर बुढीलाई छुस्स छुस्स सुनाको त पटकै पिच्छे नाई नाई, ठासठुस भन्दा केहि भएन। खर्चपनि धेरै नै हो, उसको घुर्की पनि त्यस्तै, मेरो रहर पनि त्यस्तै।


यस्तै मेसोमा एकदिन उ माइत गएकी थिई। मौका छोपेर लिनु परो भनेर साथीलाई कल गरें। बजारभाउ भन्दा केहि सस्तोमा मिलाईदिने लिंक भेटियो। मोलतोल भो, मन पनि पर्यो। यौटा लिने भनि पेमेन्ट पनि गरियो। सामान चै बसेको ठाउँ नजिकैको गोदामबाट डेलिभरी गरिदिन्छु भनेका थिए साहुजी दाजुले।





२।

उनको खास्साको घर थियो। भाडामै बसेका भएपनि पुरै घर लिएको भएर होला, निकै मेनेज्ड लाग्थ्यो। परिवार खुशी थिए।सानो बच्चा थियो। गेम भनेपछि हुरुक्क। बैठक कोठाको रौनक पनि क्या थियो। वरिपरि राम्रै हेरेको थिएँ मैले।

कुरा भए अनुसारको टिभी लिइयो। उनले आफ्नै प्राइभेट कारमा टिभी डेलिभरी पनि दिएका थिए। सम्झना यति नै थियो उनिसंग।


३।

टिभी त ल्याइयो। बुढीलाई सुटुक्क मेसेन्जरमा फोटो पठाएँ। भोलिपल्ट माइतबाट फर्केर आएपनि एक हप्ता सम्म उ बैठक कोठा पसिन। घुर्कीलाई कसले जितोस्।

४।

राम्रो देखियोस् भनेर अनेक गरें। टिभी राख्ने साइडको पर्खालमा गाढा कलरको रंग लगाएँ। डेरामैं बसेको भएपनि बैठक पेन्टिंग गरें। मिस्त्री बोलाएर आफ्नै डिजाइनको सो-केश पनि घरमै बनाएँ। टिभी हेरियो । धित त के मर्थ्यो र ? फेरि टिभी नै हेर्ने गरी फुर्सद पनि खासै हुने हैन। तर अफिसबाट ढिलो हुँदा, बुढीलाई नै बढी साथी भयो टिभी ।

५। 

७२ साल, बैशाख १२। खाना खाएपछि, बुढीलाई भनें - "यौटा मिठो चिया खाउँ।" चिया पाकेर टेबलमा मात्रै के राखेको थियो, घर पुरै हल्लिन थाल्यो। उ डरले राम्रै रुन थाली। दौडेर घर बाहिर निस्कन पनि भ्याइएन। मुल ढोकाको चौकोश विचमा बसेर राम्रै संग खाइयो - त्यो भुइँचालो। रोकिए पछि तल झर्दा घर त झण्डै आँआँआँआँ परिसकेको थियो।

दराजमा राखेको पैसा, ल्यापटप, सर्टिफिकेट अनि त्यो ४० इन्चको टिभी। हिम्मत गरेर माथि चढें। अरु त बोकें। टिभी चै भित्तामा झुन्डिराखेकै थियो।

६। 

टेका लगाको घरमा चढेर टिभी प्याकिंग गरियो र ससुराली लगेर राखियो । दोस्रो चोट भने टिभीले खानु परेन। 

७। 

घर सरियो। नयाँ बैठक कोठा मस्त थियो। टिभी राख्नको लागि त पैलाको भन्दा झन राम्रो। तर ७२ साल भरि टिभी जहाँको तहिँ बसिरह्यो। न कसैले प्याकिंग खोल्यो। न टिभी ले नै - 'अब त नडरा' भनेर भन्यो। टिभी बिक्यो।

८। 

फेरि सरियो।
अब त टिभी फेरि चाहियो । यसपाली भने बुढीले नाई भनिन।
९। 

उहि पसलमा पुगें, चिनजान गरें। सामान हेरें । सबै पक्कापक्की भो। चिया पिउने मेसो सुरु भो।
१०। 

कुरा निकालें। "मैले पैलाको टिभी फलानो ठाउँबाट उठाएको थिएँ, फलानो हुनुहुन्थ्यो नि। "

साहुजी दाइले भने - "उहाँ त साफ भै सक्नु भो । राम्रै रिन मा डुब्नु भो। ठूलै मानसिक आघात पर्यो । ज्यान त बाँच्यो, तर अहिले मेडिकल कस्टडीमा हुनुहुन्छ "

टिभी त बोकें मैले। ४० किलोको मनमा भारि पनि । लाग्यो, 'धेरै डिटेल बुझेर पनि के गर्नु ?'। त्यो बच्चा, र त्यो पुरानो ४० इन्चको टिभीसंगको सन्दर्भहरु सम्झिँदै हामी बुढा बुढी घर फर्क्यौं।

११ । 
४३ इन्चले चै अब कस्तो कथा बनाउने हो ?



- जेठोबुढो
२०७३, कार्तिक १०