झुर आत्मकथा

Comment

यदि,
अति सामान्य व्यतित हुँदो हो त जीवन,
कस्तो हुन्थ्यो होला ?
अरबौं मान्छेहरुका
सम्झिएका, बिर्सिएका,
अनि लेखिएका र नलेखिएका,
खरबौं कथाहरु मध्येबाट - 
कुनै उल्लेख्य अनि उदाहरणीय 
विषयवस्तु वा निचोड नभेटिएको
उसले लेख्न खोजेको उसको आफ्नै आत्मकथा ?

विना कुनै आपाद,
अनि विना कुनै ड्रामा, थ्रिलर या उन्माद,
सपनाले धकेलिएको उसको कुनै क्षितिज नै छैन,
भयका कारण गरेको कुनै गलत निर्णय नै छैन,
पसार्नु परेन कहिल्यै, अभावको कारणले दुइ हात
टाउकै समाउनु पर्नेगरि देखेन उसले त्यसतो कुनै विसन्चोको जात
उमेर छँदै जुरेको लगन, श्रीमती पनि भनेजस्तै चिटिक्क
एक छोरा, एक छोरी - दुइ सन्तान  - पुग्ने गरि ठिक्क
छिमेकमा पनि झगडा गर्नै परेन, साथीभाइमा लफडा मोल्नै परेन
समय आएरै विते बाउ-आमा - कालगतिले,
हुन्थ्यो होला खै कस्तो - यदि यो कुरा यस्तो भइदिएको भए ?
हुन्थ्यो होला खै कस्तो - यदि त्यो कुरा त्यस्तो नभइदिएको भए ?
सोच्नै परेन ।

कसैले लेखिदिनै नपर्ने
कसैलाई सुनाउनु नै नपर्ने 
अनि कसैले कुनै विवेचना गरिराख्नु नै नपर्ने ।
न त सन्ततिलाई नै गुदी पुग्ने गरि जगेर्ना गरिराख्नु पर्ने ?
किन लेखिन्थो र त्यसतो कुनै कथा ?
अनि, उसले लेखेन आफ्नो आत्मकथा । 

उसलाई, 
दिनै जसो देख्तथें म ।
ड्रामै ड्रामाले भरिएको सनसनीमा व्यतित,
आफ्नो जीन्दगीसंग
उसको हाइसन्चो संग इख पाल्दथें म ।
उ सोच्दो हो,
किन यति टन्टा मोलिरहेको हुँला म ?
म सोच्दै छु,
सपना विना कसरी दिन काट्न सक्दछ उ ?
उसले धेरैबेर त यसमा पनि सोचेन, म ढुक्क छु । 
उसले लेख्न खोजेको आत्मकथा, लेखेन -
किनकी उसलाई लेख्नै परेन ।

तर,
उसको इच्छा विपरित, उसको आवश्यकता विपरित
उ यौटा पात्र बन्न पुग्यो ,
मेरो नाटकीय आत्मकथाको । 

जेठोबुढो
२०७७, जेठ २३